मलाई नेपालमा गुणस्तरीय प्राज्ञिक जर्नल स्थापना गर्ने ठुलो हुटहुटी थियो।
नीति अनुसन्धान प्रतिष्ठानको संस्थागत म्यान्डेट सरकारलाई नीतिगत विषयहरूमा पृष्ठपोषण गर्नु हो - त्यो पनि अनुसन्धानमा आधारित, तथ्यमा आधारित भएर। त्यसैले मैले तत्कालीन कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीसँग मेरो हुटहुटीको बारेमा शेयर गरेँ। वहाँलाई पनि नेपालमा सार्वजनिक नीति सँग सम्बन्धित प्राज्ञिक जर्नलको आवश्यकता महसुस भएको रहेछ र वहाँले ल सुरु गरौँ भन्नु भयो ।
सुरुमा जर्नलको कार्य क्षेत्रको बारेमा छलफल भयो र जर्नल नीति अनुसन्धान प्रतिष्ठानको अगुवाइमा स्थापना हुने भएता पनि प्रतिष्ठानले यसलाई कुनै पनि हस्तक्षेप गर्न नहुने गरी एक स्वतन्त्र प्राज्ञिक सम्पादक मण्डल बनाउने बारेमा छलफल भयो। त्यसपछि डा. उप्रेतीले मलाई यस बारेमा थप अध्ययन गर्न सल्लाह दिनु भयो भने वहाँले विभिन्न प्राज्ञिक विधाका प्राज्ञहरूसँग प्रतिष्ठानको अगुवाइमा स्थापना हुन लागेको नीति जर्नलको बारेमा र वहाँहरूको सम्पादकीय मण्डलको सदस्यमा सम्भावित संलग्नताको बारेमा छलफल गर्नु भयो।
हाल नेपालमा धेरै जर्नलहरू छन्। कहिले हाँकी त नेपालका विश्वविद्यालय विश्वमा नै सबै भन्दा बढी जर्नल भएको विश्वविद्यालय त पर्दैन भनेँ शङ्का समेत लाग्छ। खयर जे भए पनि, हामीले नेपालमा विशुद्ध सार्वजनिक नीतिको बारेमा बृहत् छलफल हुने र प्राज्ञिक वर्ग र नीति निर्माण तहमा बसेर धेरै अनुभव सँगाल्नु भएका विज्ञहरू तथा सबैको नीतिगत क्षेत्रमा प्राज्ञिक बहस गर्ने थलोको रूपमा विकास गर्ने अर्को जर्नल भेटेनौ। तसर्थ त्यस्तो जर्नलको आवश्यकता छ भन्ने हेतुले यस जर्नल सुरु भएको हो जसमा सबै सम्पादक मण्डलका प्राज्ञहरू सहमत हुनुहुन्छ।
उक्त छलफलमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा लिखित लेखहरूलाई उत्तिकै प्राथमिकता दिने निष्कर्ष थियो। बढी जोड चाहिँ नेपाली भाषालाई दिऊँ भन्ने थियो तर नेपाली भाषामा मात्रै जर्नल प्रकाशन गर्नु जर्नलमा प्रकाशित लेखहरूको अन्तर्राष्ट्रिय स्तरमा भिजिबिलिटी कम हुने र जसको कारण जर्नलको भविष्य नै सङ्कुचित हुने कुरामा म चाहिँ सचेत थिए । त्यसैले मध्यम मार्गी बाटो अपनाइयो, हामीले स्थापना गर्न लागेको जर्नलमा तिन खण्ड हुने पहिलो खण्डमा नीति सँग सम्बन्धित लेखहरू तर त्यसमा कुनै पनि अनुसन्धानात्मक लेखमा हुनु पर्ने सबै गुण तथा गुणस्तर भएको हुनु पर्ने र भाषा अङ्ग्रेजी नै हुनु पर्ने; दोस्रो “नीति समीक्षा” खण्डमा नेपालको विद्यमान नीतिको वा उक्त नीतिको कुनै पनि प्रावधानको समीक्षा सम्बन्धी लेखहरू। नीति समीक्षा खण्डमा प्रकाशित हुने लेखहरूले न्यूनतम प्राज्ञिक गुणस्तर भने कायम गर्नु पर्ने, समीक्षाको लागि चाहिने यथेष्ट प्रमाणहरू, कानुनी प्रावधान तथा अन्य कार्यान्वयनका पक्षहरू समेत उल्लेख गरी निष्कर्षमा नीति विकल्प सहित प्रस्तुत हुनु पर्ने गरियो। तेस्रो खण्डलाई “नीति टिप्पणी” भनेर राखियो। यस तेस्रो खण्डमा भने नेपाली भाषा प्रयोग गर्न सकिने व्यवस्था गरियो। तेस्रो खण्डमा नीति निर्माणको क्षेत्रमा वा अन्य कुनै पनि क्षेत्रमा लामो समय काम गरेका प्रबुद्ध वर्गहरूको लेखलाई समावेश गरिने प्रावधान राखियो । यस खण्डमा पहिलो खण्डको जस्तो प्राज्ञिक गहनतालाई भन्दा पनि अनुभव जन्य कुराहरूलाई बढी ध्यान दिने प्रावधान राखियो।
यस जर्नलको सम्पादनको क्रममा मेरा अनुभवहरू यहाँ शेयर गर्ने जमर्को गरेको छु
१. जर्नल सम्पादकले अवसर आउनासाथ आफूले सम्पादन गर्ने जर्नलको विषयमा प्रचार गर्न वा अनुसन्धानात्मक लेखहरू आव्हान गर्न छुटाउँदैनन् । साथीहरू भेट्दा वा त्यस्तै कुनै अवसर पर्दा त्यो अवसर म पनि छुटाउँदिन। तर केही साथीहरूबाट तिमीले सम्पादन गर्ने जर्नलले लेख पठाए बापत कति पैसा दिन्छ भनेर समेत भएर सोधे। बुझ्दै जाँदा केही नेपाली सरकारी संस्थाहरूबाट निस्किने जर्नल - “नेपालका विश्वविद्यालयहरूले ती जर्नललाई प्राज्ञिक जर्नल र नेपालबाट प्रकाशन हुने गुणस्तरीय जर्नलको श्रेणीमा राख्ने गर्दछन्” हरूले लेखकलाई पैसा दिने गर्दा रहेछन्। अनुसन्धान गर्दा “पैसा” अर्थात् अनुसन्धान वृत्ति दिनु राम्रो हो तर जर्नलमा लेख पठाएबापत लेखकलाई जर्नल व्यवस्थापक पक्षले पारिश्रमिक दिएको प्राज्ञिक जगत्मा सुनिएको थिएन जुन नेपालमा थाह पाएँ। त्यस्तो कुनै मापदण्ड नै त छैन तर अन्तर्राष्ट्रिय अभ्यास वा प्राज्ञिक जगत्मा अहिलेसम्म चली आएको अभ्यासमा जर्नल व्यवस्थापनले लेख लेखे बापत पारिश्रमिक वा अन्य कुनै पनि शीर्षकमा लेखकलाई पैसा दिँदैन। जसले मलाई कति पैसा दिन्छ भनेर सोधे उनैले राम्रै विदेशी जर्नलमा पनि आफ्ना लेख प्रकाशन गरेका रहेछन्।
२. प्राज्ञिक क्षेत्रमा लागेका सबै जस्तो प्राज्ञहरूले जर्नलको लेखलाई समीक्षा गर्ने गर्दछन्। यो प्राज्ञिक क्षेत्रबाट सिर्जना हुने ज्ञानको एक अभिन्न अङ्ग हो। सम्पादकले प्रकाशनको लागि प्रेषित गरेको लेखलाई जर्नलको कार्यक्षेत्र भित्र भएको खण्डमा विषय विज्ञहरूलाई समीक्षाको लागि पठाउने गर्दछ। समीक्षकले उक्त पाण्डुलिपिलाई प्रकाशन योग्य छ या छैन वा प्रकाशन गर्न योग्य बनाउन के के सुधार गर्नु पर्दछ भनेर पृष्ठपोषण समेत गर्ने गर्दछन् । यो एक स्वयंसेवा समेत हो र यसलाई प्राज्ञिक क्षेत्रमा एक विशेष महत्त्वका साथ हेरिने गरिन्छ। मैले पाण्डुलिपि प्राप्त गरे पछि कम्तीमा २ जना विषयसँग सम्बन्धित समीक्षकलाई उक्त लेख समीक्षाको लागि आह्वान गर्ने गर्दछु। यसै सिलसिलामा दुई जनाले कति पैसा दिन्छ भनेर सोध्नु भयो। बुझ्दै जाँदा केही सरकारी संस्थाबाट प्रकाशन हुने जर्नलहरूले लेख समीक्षा गरिदिए बापत पैसा दिने गरेका रहेछन्। यसरी पैसा लेखकलाई पैसा दिएर र समीक्षकलाई पैसा दिएर ज्ञानको गुणस्तर कसरी सुधार हुन्छ?
३. तेस्रो पाँच - छ जना लेखकहरूबाट समीक्षकले दिएको सुझावलाई मनन गरी पाण्डुलिपि परिमार्जन गर्नु भन्दा पनि “मैले लेखेको लेखमा कुनै गल्ती छैन, वा मैले लेखेको लेखहरू विश्वका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले उद्धरण गरेका छन् त्यसैले तिम्रो जर्नलमा सुरुमा मैले जे पठाए त्यही छापिदिनु, वा मेरो लेखलाई प्रश्न गर्ने को हो” भन्ने आशयका प्रतिउत्तरहरू पाएँ। उनीहरूलाई हाम्रो सिस्टमले “विशिष्ट प्राज्ञ” उपमा दिएको छ, विभिन्न समयमा सरकारले विभिन्न क्षमतामा वहाँहरूको क्षमता उपयोग गरी धन्य समेत भएको छ। तर मैले नोबेल पुरस्कार विजेताबाटै उनीहरूका समेत धेरै लेखहरू धेरै पटक जर्नलले प्रकाशनको लागि अस्वीकृत गरेको अनुभवहरू पढेको छु। धेरै प्राज्ञहरूबाट लेखहरू अस्वीकृत हुँदा आत्तिनु नपर्ने सुझावहरू पढेको छु। धेरैले प्रतिष्ठित जर्नलमा प्रकाशन भइसकेको जर्नलको लेखलाई पनि समीक्षाको लागि पठाउने हो भने केही न केही सुधारका ठाउँहरू देखिन्छ भनेको समेत सुनेको छु। जसले मलाइ जुन लेखको सन्दर्भमा समीक्षकको सुझाव अनुसार परिमार्जन गर्नुस् भनेर आग्रह गर्दा माथि उल्लेखित “प्रतिनिधि” उत्तरहरू दिनु भयो तीनै लेखहरू समीक्षामा पठाउनु भन्दा अगाडी कमसेकम दुई पटक पढेर र समीक्षाबाट आइसके पछि समीक्षकको सुझावहरू समेत ध्यान दिएर पढेको हुँदा के वहाँले भने जस्तो कुनै पनि सुधारको ठाउँ नै छैन? नेपालको प्राज्ञिक जगत्मा प्रश्न गर्न वा सुझाव दिन छुट छैन? भन्ने प्रश्नले साह्रै सताउँछ!
४. केही लेखहरू (९ वटा जति) चाहिँ समीक्षकको तेस्रो पटकको सुझाव पछि परिमार्जन भएर आएनन् । पछि थाह पाएँ ती तेस्रो समीक्षा चरणमा जस्तो गरी परिमार्जित भएर आउनु पर्ने थियो त्यही रूपमा Q1 जर्नलहरूमा देखेँ। एक हिसाबले साह्रै रिस उठ्यो तर मन मनै खुसी भएँ, मैले अपनाएको सम्पादकीय कारबाही र यस जर्नलले प्रयोग गरेका समीक्षकहरूका सुझाव अन्तर्राष्ट्रिय स्तरका रहेछन् भनेर धेरै खुसी भए।
नेपाली जर्नलको गुणस्तर कम हुनुको कारण मेरो यी चार अनुभव काफी छन् भन्ने मलाई लाग्छ। यी प्रतिनिधि घटनाहरू यस जर्नलमा मात्रै होइन नेपालका अन्य जर्नलका सम्पादकले समेत भोगेको हुनु पर्दछ। यदि यस्ता घटनाहरूलाई नजरअन्दाज गरियो भने हाम्रो प्राज्ञिक क्षेत्रमा हुने बहसलाई विश्व प्राज्ञिक जगत्मा पुर्याउन सक्दैनौ ।
No comments:
Post a Comment