Saturday, March 28, 2015

सत्याग्रहको तागत पढ्नुस, काे हुन् डा. केसी

काठमाडौ, चैत्र १४ - मेडिकल कलेजका विकृति र मनलाग्दी सम्बन्धनको विरोधमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा डा. गोविन्द केसीको सत्याग्रह जारी छ । उनले पाँचौं शृंखलाको आमरण अनशन थालेको ६ दिन भयो, जस क्रममा उनको स्वास्थ्य झन्-झन् नाजुक बन्दै गएको छ ।
शिक्षण अस्पतालका आवासीय चिकित्सक उनको अभियानलाई समर्थन गर्दै आन्दोलनमा ओर्लिसकेका छन् । तुल, ब्यानर र अपिलले अस्पताल भरिएको छ । कुनै पनि भित्ता खाली छैनन्, जहाँ केसीबारेका विज्ञप्ति र लेखहरू नटाँसिएको होस् । स्टेथेस्कोप चलाउने डाक्टरहरू कविता लेख्दै टाँसिरहेका देखिन्छन् ।
को हुन् यी केसी, जसको नैतिक बलसामु शक्ति केन्द्रहरूसमेत नतमस्तक बन्नु परिरहेछ । कम्तीमा उनीहरूलाई यो अविरल अनशन मन परेको छैन । तर ठाडै चुनौती दिने हिम्मत पनि कसैमा देखिन्न । ५७ वर्षे केसी एकातिर प्राध्यापक हुन्, अर्कातिर चिकित्सक । केसीका सहकर्मी डा. भगवान कोइरालाले डेढ वर्षअघि प्रसंगवश यो पंक्तिकारसँग भनेका थिए, 'केसी इमानदार सन्की हुन् ।'
त्यसबेला शिक्षण अस्पतालका निर्देशक रहेका कोइरालाको मजबुन थियो, केसी सत्यवादी छन्, अरूसँग डग्दैनन् । अव्यावहारिक छन्, तर गलत कुरामा सम्झौता गर्दैनन् । कोइराला त केसीका 'यार' भइहाले । केसीका आलोचकहरू पनि उनका पदचिह्नमा खोट भेटिन्छ कि भनी खोजी हिँड्छन् । केही नपाएपछि भनिदिन्छन्, 'उनी सन्काहा छन् । कसैको कुरा सुन्दैनन् ।'
केसीको तिनै दुई चरित्र- इमान र सनकले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान -आईओएम) बदल्ने अभियानको नेतृत्व गर्दैछ । आईओएम त एउटा प्रतिनिधि संस्था हो, कसैलाई मन परे पनि नपरे पनि यो सत्याग्रहले सिंगो नेपाली समाजको चेतनालाई जरैदेखि हल्लाउँदैछ । नेपालको सबभन्दा ठूलो शैक्षिक केन्द्रमा आवश्यक भइसकेको उलटपुलटबिना यो आँधी थामिनेवाला छैन । केसी-अडानले यसै भन्छ । २०७० कात्तिक तेस्रो साता फिलिपिन्समा भीषण आँधीहुरी आयो । आँधी थामिइसक्दा पनि त्यसले छाडेका घाउले फिलिपिन्स छट्पटाइरहेको थियो । एक महिनापछि मंसिर तेस्रो साता नेपालका एक वरिष्ठ चिकित्सक त्यहाँको सर्वाधिक प्रभावित ताक्लोवान सहर ओर्लिए । आँधीपीडितको उपचारमा रातदिन भोकतिर्खा नभनी खटिए ।
बिनाबर्दीका ती स्वयंसेवक उनै डाक्टर केसी थिए, जसलाई कुनै सरकार, रेडक्रस वा उद्धारक संस्थाले पठाएको थिएन । उनी अन्तर्मनको आवाज सुनेर फिलिपिन्सतिर हान्निएका थिए । अढाई लाख जनसंख्या भएको त्यो सानो सहर क्षतविक्षत थियो । डाक्टर केसीले दुई सातामै चार सय पीडितको उपचार गरे । तीमध्ये ६० घाइतेको त गम्भीर शल्यक्रिया नै गरे ।
खाने-सुत्ने कुनै ठेगान थिएन । हुरीले उडाएका झ्यालढोकाविहीन घरमा अडेसो लागेर पाउरोटी र पानी खाएको भरमा रात कटाउँथे यी डाक्टर । दैनिक बीस घन्टासम्म उपचारमा खटिए । आफैंले आफैंलाई निःशुल्क 'रोज' लगाएका उनले तलबभत्ता पाउने कुरै थिएन । उल्टै त्रिवि शिक्षण अस्पताल महाराजगन्जको जागिरले आर्जेको कमाइ त्यसमा लगाए । औषधि र सामग्रीहरू किनेर बाँडे । डाक्टर भएका ठाउँमा बिरामी जानु स्वाभाविक कुरा हो । तर बिरामी खोज्दै हिँड्न सक्नेचाहिँ गोविन्द केसी नै हुन् । जस्तो कि, पोहोर फिलिपिन्स जानुअघि भारतको उत्तराखण्डमा आइपरेको प्राकृतिक विपत्तिमा पनि उनी पुगेका थिए । दार्चुलाका पहिरोपीडितको उपचारका लागि चार दिन बिताएका उनी उतैबाट उत्तराखण्डको पहिरामा पुरिएकाहरूको उद्धार र उपचारमा दौडे । गौरीकुण्ड र पनौली घाटमा डेरा जमाएर सयौंको उपचार गरे ।
२०४५ मा भूकम्प जाँदा केसी पहिलो पटक पीडितको उपचारमा सहभागी भएका थिए । धरानमा ठूलो जनधन हताहत भएको सुन्नासाथ नाइटबस चढेर हुइँकिए । दुई दिन त्यहाँ बिताए । त्यसको झन्डै पाँच वर्षपछि काठमाडौं वरपरका गाउँमा स्वास्थ्य शिविर चलाए ।
२०६६ सालमा जाजरकोटमा हैजाले सयौं मानिस पीडित भएको खबर सुनेपछि केसी खच्चडमा औषधि लिएर सदरमुकाम खलंंगा पुगे ।
त्यहाँ १० दिन उपचार गरेरै बिताए । स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिए । लाग्छ, यी डाक्टरका लागि चिकित्सा जागिर होइन । धर्म हो । धर्मभन्दा माथिल्लो दर्जामा अरू केही छ भने केसीका लागि चिकित्सा त्यही हो ।
उपचार त काठमाडौं बसेर पनि गर्न सकिन्छ । केसीका कतिपय सहकर्मी डाक्टरलाई यस्तै लाग्छ । केसी ठान्छन्- मान्छे जहाँसुकै होस्, बिरामी भएपछि समयमा उपचार पाउनु उसको अधिकार हो ।
यस्तै सोच बोकेर केसी काठमाडौैंको रुटिनबाट बाहिर निस्किइरहन्छन् । उनले टेक्न बाँकी कुनै जिल्ला छैन । विदेश जान्छन् । विदेशी बिरामीले उनको भाषा नबुझ्लान् । केसी भन्छन्, 'बिरामीको कुनै देश हुँदैन । अनि, डाक्टरको पनि ।' 'पैसा कमाउनु ठूलो कुरा होइन,' चिकित्सा पेसाको धर्म उनलाई थाहा छ, 'जहाँ उपचार चाहिन्छ, त्यहाँ डाक्टर पुग्नुपर्छ ।'
२०६४ सालमा कोसी तटबन्ध भत्कियो । केसी काठमाडौंमै सेवारत थिए । तटबन्ध भत्केर हजारौं विस्थापित भएका थिए । तिनको स्वास्थ्य नाजुक बन्दै गएको दृश्य टीभीले देखाउन थाल्यो । केसी टिचिङ हस्पिटलमा अडिन सकेनन् । आफूसँग भएको पैसाले रातारात औषधि किनेर त्यसैको अर्को बिहान घटनास्थलतिर गुडे । पाँच दिनमा उनले त्यहाँ १ हजार ७ सय ५१ पीडितलाई जाँचे । औषधि बाँडे ।
सन् २००१ मा ४० हजार मान्छेको ज्यान जाने गरी भारतको गुजरातमा भूकम्प आउँदा केसी त्यहाँस्थित भुज नामक ठाउँमा तीन सातासम्म निरन्तर ओखतीमूलो गर्दै बसे । बंगलादेशको आँधीका यी साक्षीले त्यहाँका पीडितलाई पनि उपचार गरे । २००५ मा पाकिस्तानमा ठूलो भूकम्प आएपछि उनी त्यहाँ पनि साढे दुई साता स्वयंसेवामा होमिए । त्यहाँ पनि उसैगरी घाइते र बिरामी जाँचे । त्यसैगरी औषधि निःशुल्क बाँडे ।
सन् २००८ मा बर्मामा आँधी आउँदा १२ दिन खटिएका थिए । त्यतिखेर बर्माको राजधानी रंगुनमा २ सय ७८ जनालाई हाडजोर्नीसम्बन्धी तालिम पनि दिए । बर्मा सरकारले विदेशीलाई आँधीप्रभावित क्षेत्रमा छिर्न दिएको थिएन । केसी भने एक स्थानीय शिक्षकको सहयोगमा भेष बदलेर प्रभावित क्षेत्र पुगे । त्यतिखेर बर्मा सरकारले चिनेको भए सहयोग गर्ने शिक्षकलाई १५ वर्ष जेल हाल्न सक्थ्यो ।
सन् २०१० मा हाइटीमा महाभूकम्प जाँदा उनी घटनास्थलमा खटिएका थिए । त्यहाँ उनले १६ दिन बिताए । दैनिक २५ घाइतेलाई जाँचे । तीन लाख मानिसको ज्यान लिने भूकम्प आएको समाचार सीएनएन टीभीमा हेरेपछि त्यहाँ जाने निश्चय गरेका थिए उनले । तीन सातामा २ सय ३२ शल्यक्रियासहित ३ सय ९५ जना घाइतेको उपचार गरे ।
देश-विदेशमा गरेका यी तमाम कामका लागि कसैबाट 'एक रुपैयाँ नलिएको' उनी जिकिर गर्छन् । त्यही समर्पणको बलमा उनी आजसम्म शिर ठाडो पारेर हिँडिरहेका छन् । शक्तिमानहरूलाई उनका सामु झुक्न कर लागिरहेको छ ।
केसीले यो पंक्तिकारलाई अघिल्लो पटक अनशनको सेरोफेरोमा सुनाएका थिए- उनको जस्तै अभियान चलाउन बेला-बेला सहकर्मी चिकित्सकहरू पनि रहर गर्दा रहेछन् । 'जाने बेला कृपया हामीलाई पनि खबर गर्नूस् न डाक्टरसाब, हामी पनि तपाईर्ंसँगै जान्छौं भन्छन्, तर अन्तिममा कोही आउँदैनन्,' उनी हाँस्दै सुनाइरहेका थिए, 'डाक्टरसाब, यसपालि मेरो काम पर्‍यो, अर्को पटक है ।' उनले यस्तो जवाफ सुनेको कति भयो कति । अंग्रेजीमा एउटा 'क्लिसे' छ- 'देयर इज अलवेज नेक्स्ट टाइम ।' तर ती सहकर्मर्ीका लागि त्यो 'अर्को पटक' कहिल्यै आएनछ ।
समर्पणका गाथाहरू पढेर रोमाञ्चित हुन सजिलो छ, स्वयं काँडाघारीमा नाङगा पैंतालाहरू चाल्न गाह्रो । पुस्तकको काँडाले आनन्द देला, यथार्थको काँडाले तर्तरी रगत चुहाउँछ ।
र, यही 'गाह्रो काम' गरेर देखाइरहेका छन्, डा. केसी, जो आफ्नो जीवनको मूल्यमा यी सबथोक गरिरहेका छन् । र, आकर्षक कमाइका लागि लालायित केही मानिस, जो मापदण्ड मिचेर भए पनि मेडिकल कलेजहरूलाई सम्बन्धन दिलाउन चाहन्छन्, केसी तिनको बाटामा तगारो बनेर उभिएका छन् ।
केसीले प्राध्यापन र डाक्टर पेसा अँगालेको झन्डै दुई दसक बित्न लाग्यो । तर उनले आजसम्म कार, मोटरसाइकल जोडेका छैनन् । मोबाइल फोन बोक्दैनन् । बरु मिल्यो भने साइकल किन्ने योजना सुनाउँछन् । आजसम्म अविवाहित छन् । उनको निजी सम्पत्ति भन्नु अफिसले खोलिदिएको बैंक खाता हो । एउटा ल्यापटप छ । घरजग्गा जोडेका छैनन् । भएको पैतृक सम्पत्ति पनि बेचिसकेका छन् । 'बिहे गरेको भए यसरी घुम्न समय पाउँथिन कि,' यी चिकित्सक हाँस्दै सुनाउँछन् ।
त्यसबेला सशस्त्र द्वन्द्व सुरु भइसकेको थियो । यी डाक्टर उपचार गर्दै मधेस, पहाड गरिरहेका थिए । माओवादी कार्यकर्तालाई परेछ, 'यो उपचारका नाममा हाम्रो सुराकी गर्न खटाइएको सरकारी गुप्तचर हो कि !'
सरकारी सेना-पुलिसले पनि उनलाई कतै माओवादी त होइनन् पनि सन्देह गर्दा रहेछन् । गाउँलेहरू पनि सुरुमा 'माओवादी' हो कि भन्दै भातबाससमेत दिन इन्कार गर्दा रहेछन्, केसी जो बताउँछन् ।
यसपल्ट केसीका दसबुँदे माग छन् । त्यसमध्ये, चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालयको निर्माण हुनुअघि नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गरिनुपर्ने, चिकित्सा शिक्षा तथा स्वास्थ्य नीति निर्माणका लागि बनेको रिपोर्ट कार्यान्वयन गर्न सुनिश्चितता गरिनुपर्ने, ग्रामीण क्षेत्रमा मेडिकल कलेज खोलिनुपर्ने, दलीय भागबन्डाबाट पदाधिकारी छान्ने चलन खारेज गरिनुपर्ने जस्ता माग छन् ।
केसीले यसपल्ट अदालतका फैसलादेखि अख्तियार प्रमुखसम्मलाई ताकेका छन् । एक्लै छन् केसी । एकैपटक सबै क्षेत्रमा प्रहार गरिरहेका छन् । यसरी एउटा धनुकाँड सबै दिशामा एकैपल्ट ताक्दा रणनीतिक हिसाबले हार्न पनि सकिन्छ । कुनै-कुनै लडाइँ यस्ता हुन्छन्, जहाँ सत्यले सधैं जित्नैपर्छ भन्ने छैन । कुशल रणनीतिले जितिन्छ । केसी भने यसलाई फेल खुवाउन एक्लै कस्सिएका छन्, बंगाली कवि रवीन्द्रनाथ टैगोरको 'एकला चलो रे' शैलीमा ।
भौतिक पूर्वाधार नपुगेका कलेजलाई गलत मनसायले सम्बन्धन दिनु गलत भएको, केसीको माग सही भएको बताउँछन्, एमाले सचिव योगेश भट्टराई । केसीको अघिल्लो अनशनताका एमाले स्वास्थ्य विभागका प्रमुख रहेका भट्टराई मेडिकल शिक्षादेखि उपचारसम्मका लागि वाषिर्क अर्बौं रुपैयाँ विदेश गइरहेको तथ्य ख्याल गर्न सुझाउँछन् । त्यसैले मापदण्ड नपुगेका कलेजमा पूर्वाधार र चिकित्सक थपेर भए पनि निर्माणाधीन कलेजलाई सम्बन्धन दिइनुपर्ने उनको तर्क छ ।
'डा. केसीको नियतमा प्रश्न गर्न सकिन्न, तर केही मानिसले उहाँलाई गलत ढंगले उपयोग गरिरहेका छन्,' भट्टराई भन्छन्, 'म आफैं पनि संलग्न भएर जो-जो मानिससँग छलफल गरें, त्यसका आधारमा म यो दाबी गर्न सक्छु ।'
केसीले पूर्वाधार नपुगेका कलेजहरूलाई सम्बन्धन नदिन गरेको माग सही भए पनि त्यसकै नाममा एकथरी माफियाले आफ्नो व्यापार सुक्न नदिन केसीलाई दुरुपयोग गरिरहेको भट्टराईको आरोप छ । 'अन्जान मानिस स्वार्थ थाहा पाउन सक्दैनन्, पपुलर नाराले उनीहरूलाई तान्छ,' उनी जोड्छन्, 'अर्कातिर केसीको आलोचना गर्दा अमानवीय देखिइएला कि भन्ने डरले बोल्दैनन्, तर सत्य भन्नुपर्छ ।'
पोहोर माघमा अनशन बस्दा यी डाक्टरको नैतिक बलसँग डराएर पहिलो दिन माहोल भाँडन एउटा समूह सक्रिय थियो । आफूलाई कुनै राजनीतिक ब्यानरनिकट बताउने उनीहरूले भोलिपल्ट मुख देखाउनसमेत नसक्ने स्थिति सिर्जना भयो, जब नागरिक अगुवाहरूले केसीको पक्षमा मुख खोल्न थाले । यो पटक त्यस्तो अवस्था त आएन । तर दलीय नेतृत्वबाट देखाएको मौनता अर्थ लगाउन मिल्ने खालको छ ।
यो सत्याग्रही आगोको लप्काले बिस्तारै सिंगै देशलाई सल्काइरहेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान र अस्पतालमा डाक्टर केसीको पक्षमा आन्दोलन घोषणा हुन थालिसकेका छन् । फेसबुक, ट्वीटरभरि केसी र उनका मुद्दा छाएका छन् ।
आवासीय चिकित्सकहरू आन्दोलनमा ओर्लिइसकेका छन् । चिकित्सकहरूको पेसागत संस्था नेपाल चिकित्सक संघ आइतबारदेखि आन्दोलनमा जाँदै छ । 'देशभरिका शाखालाई ७२ घण्टाभित्र आन्दोलनमा ओर्लिइसक्ने सल्लाह गरिरहेका छौं,' संघका एक पदाधिकारी बताउँछन्, 'त्रिवि प्राध्यापक संघ, पोस्ट ग्य्राजुएट विद्यार्थीहरू आन्दोलनमा छन् ।'
डा. केसीले दोस्रो पल्टको अनशन तोडेपछि उनका विद्यार्थी डा. सरोज गौतमले सुझाएका थिए रे, 'अबचाहिँ यो अनशन अन्तिम पटक भयो है सर, यसरी ज्यान नै जोखिममा पार्नु भएन ।' उनलाई यस्तो अरू धेरैले सुझाएका थिए । तर केसी के टेर्थे । तेस्रो चरणको अनशन बसिहाले । जब मेडिकल कलेजलाई गलत ढंगबाट सम्बन्धन दिन आएका दबाब झेल्न इन्कार गर्दै तत्कालीन डिन प्रकाश सायमीले पदबाट राजीनामा दिए, गौतम र साथीहरूलाई तत्काल आशंका भयो- यसपालि पनि डिनको राजीनामा त्यत्तिकै आएको छैन, अब केसी सर फेरि अनशन बस्नुहुन्छ होला ।
नभन्दै त्यस्तै भयो । केसी भोलिपल्ट कक्षाकोठामा छिरे । विद्यार्थीहरूसामु आफू अनशन बस्ने घोषणा गरे । यसपल्ट उनलाई चितवनबाट आएका डाक्टर जीवन क्षेत्री र साथीहरूले पहरा दिइरहेका छन् । 'देशैभरि आन्दोलनको तयारी हुँदैछ, त्यसले ल्याउने परिवर्तन हेर्न केसी पर्खिइरहनुभएको छ,' क्षेत्री भन्छन् । केसी-अनशनका पछिल्तिर विभिन्न स्वार्थसमूह जिम्मेवार रहेको आरोप पनि लाग्ने गरेको छ । नयाँ मेडिकल कलेज खुल्न नसके अहिले चालु कलेजमा विद्यार्थी थुपि्रने, कमाउ राम्रो हुने भएकाले अरूलाई नदिइएको आरोप पनि लाग्ने गर्छ । अझ त्यसलाई राजनीतिक रंग पनि दिइएको छ ।
'हाम्रोमा राजनीतिक संस्कार विकास भइसकेको छैन । जबसम्म संस्कार निर्माण हुँदैन, तबसम्म राजनीतिक रंग छ्यापिरहन्छन्,' अनशन शय्याबाट केसी भन्छन्, 'यस्ता आरोप लगाउने तत्त्व स्वयंले नेतालाई आफ्नो स्वार्थको सिकार बनाएका छन् । त्यसैले त एउटै मुद्दाका लागि मैले पाँच पटकसम्म अनशन बस्नुपरिरहेको छ ।'
केसीले पहिलो पटक २०६९ वैशाख २९ देखि जेठ २ सम्म अनशन बस्दा त्रिभुवन विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जनले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको दबाबमा 'वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ति' को लिखित प्रतिबद्धता गरेका थिए । त्यही आधारमा उनले पहिलो अनशन तोडे । त्रिवि कार्यकारी परिषदले अनिवार्य अवकाश पाउन तीन महिना बाँकी रहेका डा. कुमुद काफ्लेलाई डिन बनायो । काफ्लेको म्याद सकिनासाथ डिन नियुक्तिमा फेरि भागबन्डाको तयारी सुरु भइहाल्यो ।
यस्तो प्रवृत्ति दोहोरिएपछि केसी दोस्रो पटक आमरण अनशन बसे । बीचमा कार्यकारी परिषदले वरिष्ठताको सूचीमा ३२ औं नम्बरमा रहेका धर्मकान्त बाँस्कोटालाई डिन बनायो । केसीले अनशन छाडेनन् । प्रधानमन्त्री भट्टराई बाँस्कोटा नियुक्तिको तेस्रो दिनमै वरीयता सूचीमा ५ औं नम्बरमा रहेका डा. प्रकाश सायमीलाई डिन बनाउन बाध्य भए । उही मेडिकल कलेजलाई नाजायज सम्बन्धनको अत्तो थापेर तिनै सायमीलाई राजीनामा दिन बाध्य पारिएपछि केसी यो पटक-पटकको रोगलाई अस्थायी उपचार गरेर निको नहुने ठहरमा पुगे । त्यसयता आजसम्म उनी 'राजनीतिक हस्तक्षेपमुक्त आईओएम' माग्दै अनशनरत छन् । यसबीचमा दुई सरकार बदलिए, तर मन्त्रिपरिषद त्यो माग पूरा गर्न उदासीन छन् ।
'सिस्टममा परिवर्तन ल्याउनेभन्दा पनि मलाई फकाउने जस्तो गरी चलखेल हुने गरेको छ,' केसी भन्छन्, 'त्यही भएर मैले बारम्बार अनशन बस्नु परिरहेको छ । म अराजक प्रवृत्तिको अन्त्य होस् भन्ने चाहन्छु ।'
यसैबीच त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा चार महिनाअघि गठित उच्चस्तरीय स्वास्थ्य शिक्षा नीति सिफारिस आयोगले अन्तिम चरणको काम गरिरहेको छ । एक महिनाभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसक्ने माथेमाले जानकारी दिए । केहीले माथेमा आयोगको काम सकिनुअघि केसीले अनशन घोषणा गर्नुलाई हतारो मानेका छन् । तर केसी भने उक्त आयोगको प्रतिवेदन कुर्नुअघि नै मेडिकल कलेजहरूलाई सम्बन्धन दिने हतारो सरकारले किन देखायो त भनी प्रतिप्रश्न गर्छन् ।
केसीको यसअघिको अनशनकै क्रममा सरकारले स्वास्थ्य शिक्षा नीति घोषणा नहुन्जेल कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको त्यसै निर्णयलाई आधार मान्दै केसीले अनशन तोडेका थिए । तर यसैबीच काठमाडौं विश्वविद्यालयले घुमाउरो बाटोमार्फत देवदह र विराट मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सफल भयो । केसीको पाँचौं अनशनको मुख्य कारण यही सम्बन्धन हुन पुग्यो ।
केयुले सम्बन्धन नभई 'एक्स्टेन्सन' मात्रै भएको जिकिर गरेको छ । तर केसीले केयुको दाबी र सम्बन्धनमा कुनै भिन्नता नरहेको ठोकुवा गर्दै आएका छन् । केही पदाधिकारीले त्यसलाई रोक्न खोजे पनि 'माथि' बाट हुने राजनीतिक निर्णयसामु उनीहरू निरीह बन्न पुगेको खुलाउँछन् । 'यस्तो बेला डा. केसी सबैको नैतिक आवाज बन्न पुग्नुभएको छ,' आयोगका एक पदाधिकारी भन्छन् ।
र, डा. केसी झनै अडिग भएर आफ्ना माग राखिरहेका छन् । 'म जे गर्दैछु, भित्री मनले अह्राएको कुरा मानिरहेको छु,' केसीले अनशनस्थलमै भने, 'मेरा माग पूरा नहुन्जेल अनशन त्याग्नेवाला छैन । मलाई मृत्युदेखि पटक्कै डर छैन ।'
केसीलाई थाहा छ, उनको एक्लै हिँड्ने बाटोभरि काँडाहरू बिछयाइएका छन् । तगारो हालिएको छ । न्याय र कानुनका सबै झ्यालढोका थुनेर दिउँसै अँध्यारो पारिएको छ । हामी अँध्यारोप्रति मुर्मुरिँदै चियागफ र फेसबुक स्टाटसमै सीमित हुन्छौं । केसी आफ्नो जीवनकै पर्वाह नगरी विकृतिविरुद्ध दियो जलाइरहन्छन् ।
र, शिक्षणलगायत अस्पतालहरू ठप्प पार्ने तयारी हुँदैछ । एउटा डाक्टरको अडानका लागि हजारौं बिरामीले किन सिकार बन्ने भन्ने छलफल पनि जारी छन् । चिकित्साशास्त्रका विद्यार्थी वासुदेव पराजुली प्रतिवाद गर्छन्, 'बिरामी हेर्ने काम हाम्रो पढाइभित्रकै एक भाग हो, हाम्रो गुरुको त्यो हाल छ, यस्तो बेला कसरी पढ्न सक्छौं ?'
भित्रपट्टि सेमिनार कक्षमा डा. केसी लमतन्न सुतिरहेका छन् । छ दिनयता केही नखाएका उनको शरीरका विभिन्न क्रियाप्रतिक्रिया छेवैको मोनिटरमा देखिइरहेका छन् । इलेक्ट्रोकार्डियोग्राफी मेसिनको टिकटिक आवाज निरन्तर छ । सहकर्मी डाक्टर र नर्स उनको सेवामा खटिएका छन् ।
विभिन्न संस्थाका पदाधिकारी चिठी र विज्ञप्तिसहित नजिकै आउँछन् । हात जोर्छन् । ऐक्यबद्धता सुनाउँछन् । जो-जो भेट्न आउँछन्, सत्याग्रही केसीको छेउमा भक्तजनझैं घुँडा धसेर बस्छन् । मोबाइल फोन त्यहाँ बर्जित छ । ठूलो स्वरले कोही बोल्दैन । अघोषित अनुशासन छ । सत्याग्रहप्रति ऐक्यबद्धता र सम्मानको संवेदनाले जितेको छ ।
केसी-अनशन सुरु भएपछि यसले बाक्लो सामाजिक बहस पाएको छ । उनका मुद्दा जायज भए पनि अनशनको विकल्प ठीक नभएको भन्नेहरू एकातिर छन् । तर टिचिङका विद्यार्थी तथा आवासीय चिकित्सक सविन कोइरालाका विचारमा समाजले टिचिङका विसंगत पक्षबारे यति भए पनि थाहा पाउन सकेको डा. केसीकै कारणले हो । 'अनशनको महत्त्व त्यसै कारण छ,' उनी भन्छन् ।
पाँचौं शृंखलामा अनशन गरिरहेका केसीले यस्ता कतिवटा अनशन बसेपछि उनको माग पूरा हुन्छ, भन्न सकिन्न । आफैंले विगतमा गरेको प्रतिबद्धता भुल्ने सरकारी प्रवृत्तिको सिकार केसीमात्रै होइनन्, सिंगो चिकित्सा शिक्षा क्ष्ाेत्र भइरहेछ । कालान्तरमा आम नेपाली सर्वसाधारण सिकार हुनेछन्, हुँदैछन् । शरीर क्लान्त हुँदैछ । खुट्टा गलिसकेका छन् । तर अनुहारको आभा उस्तै छ । जीर्ण हुँदै गएको शरीर र झन् चम्किँदै गएका आँखा परस्पर मेल खाँदैनन् । केसीको आत्मविश्वास धेरै माथि छ । भगवान कोइरालाले भनेझैं, अलिकति विवेक । अलिकति 'पागलपन' । बेसी समर्पण । बृहत् सामाजिक दायित्वका लागि जीवन दाउमा लगाउने साहस । यी सबै तत्त्वका जोड हुन्, डा. गोविन्द केसी । इतिहास यस्तै इमान र समर्पण भएका 'सन्की' हरूले बदल्छन्, 'सद्दे मानिसहरू' त्यसलाई पढ्छन् ।


प्रकाशित मिति: २०७१ चैत्र १४ ०८:१५                                 

No comments:

Post a Comment